बागलुङ । नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा यात्रुले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये छ किलोमिटर सडकको दुराअवस्थाका कारण गाडी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र बर्खा लागेपछि हिलाम्मे सडकमा गाडी वारपार गर्नै समस्या हुने गरेको छ । बागलुङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर नौ वर्षअघि ठेक्का लगाइएको थियो ।
जसमध्ये बिहुँ घोडाबाँधेको १३ किलोमिटरमध्ये छ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ ।चालक रमण शर्माले चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको दुःखेसो गर्नुभयो । ट्रक मात्रै हैन दर्जनाैँ कार तथा जीप सडकमा फस्ने गरेका छन् । लोकमार्गको एक सय ४० किलाेमिटरमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयबासीकाे छ ।
नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो । ‘पुन ठेक्का लगाएको एक वर्ष भयो, २१ करोड रुपैयाँकाे ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ’, मिश्रले भन्नुभयो, ‘निर्माण व्यवसायीलाई वर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।’
बिहुँ–घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ-रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा पुन: ठेक्का सम्झौता गरिएको थियो ।




.gif)





