काठमाडौँ, २१ साउन–सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक माथि छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ। त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रियसभाबाट भएको संशोधन माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
आज विभिन्न समितिहरूका बैठक समेत बस्ने कार्यक्रम रहेको छ। अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ सम्बन्धमा समसामयिक छलफल हुनेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि दफावार छलफल हुने कार्यसूची छ।
विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्ज सँग सम्बन्धित प्रतिवेदन’ का विषयमा छलफल गरिनेछ।




.gif)





