images

२०८३ आश्विन १८ गते

images
images
images

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • चितवन। नागढुंगा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ। यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ।पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो। थप आठ किलोमिटर क्षेत्र कालोपत्र गर्ने तयारी गरिएको छ। सो सडकको २५ किलोमिटर भागमा पक्की नाली बनाइएको छ। सडकको चौडा गर्ने काम नाली बनाएका क्षेत्रमा भइसकेको छ। थप आठ किलोमिटर क्षेत्रमा सडक चौडा गर्ने काम बाँकी रहेको छ।

    images
    images

    सो सडक खण्डमा रहेका ६ वटा पुलमध्ये गोमती खोलाको पुलको काम सम्पन्न भएको छ। बाँकी तीन पुलमा साउनभित्रमा ढलान गर्ने योजना रहेको नेपालले बताए। थप दुई पुल वर्षा सकिएपछि काम अघि बढाइने छ। ती पुलमा पिल्लर उठाउने काम भएको छ। आयोजनाले मुआब्जा दिनुपर्नेमध्ये ७० प्रतिशत वितरण गरिसकेको छ। विद्युतका खम्बा ४०० बाट सार्नुपर्नेमा ३०३ वटा सारिएको छ। बर्सातको समयमा पुलको ढलानको काम र निर्माण सामग्री प्रशोधनको काम मात्र हुने गर्दछ। नेपालले भदौपछि अरु काम थालिने बताए।

    यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ। चार लेन सडक सात दशमलव दुई किलोमिटर हुनेछ। यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ। उकालो(ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ। बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ।

    images
    images

    विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको हो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन(नागढुंगा सडकखण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ।शर्मा-जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रूपैयाँमा यस खण्डको स्तरोन्नतिको ठेक्का लिएको हो। सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम गर्नुपर्ने हुन्छ। यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो। 

    काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रुपमा यो सडक रहेको छ। सडकमा सवारीसाधनको उच्च चाप र कच्चापदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको हो। यससँगै सुरुका वर्षमा डिजाइन परिवर्तन हुँदा पनि काममा ढिलाइ भएको नेपालले बताए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend