images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • विश्वकै एकमात्र कालाग्निरुद्र पीठ : लड्केश्वर...

विश्वकै एकमात्र कालाग्निरुद्र पीठ : लड्केश्वर धाममा राष्ट्रव्यापी आस्थाको जागरण

विश्वकै एकमात्र कालाग्निरुद्र पीठ : लड्केश्वर धाममा राष्ट्रव्यापी आस्थाको जागरण

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–११ मा अवस्थित लड्केश्वर धामलाई विश्वकै एकमात्र कालाग्निरुद्र पीठका रूपमा मान्यता दिन थालिएको छ । सूर्य पुराण को ५७ औँ अध्याय, १७ औँ श्लोकमा वर्णन गरिएको यो पवित्र स्थल हाल धार्मिक चेतनाको नव–जागरणको उत्कृष्ट उदाहरण बन्न सफल भएको छ ।

    images
    images

    धाम परिसरमा हालै निर्माण गरिएको १०८ फिट अग्लो शिव त्रिशूल र १०८ वटा शिवधारा यस क्षेत्रका प्रमुख आकर्षण बनेका छन् । झन्डै दुई दशकसम्म अलपत्र अवस्थामा रहेको त्रिशूलको पुनर्निर्माणपछि २०८० सालमा नेपालमै पहिलो पटक जनस्तरबाट राष्ट्रिय कोटिहोम आयोजना गरिएको थियो, जसमा ७७ वटै जिल्लाबाट श्रद्धालुहरूको सहभागिता रहेको थियो ।यस ऐतिहासिक कोटिहोममा राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराजा ज्ञानेन्द्र शाह सपत्नीक उपस्थित भई पूजामा सहभागी भएपछि धार्मिक र राष्ट्रिय महत्व झन् बढेको देखिएको छ ।

    शास्त्रीय मान्यतामा आधारित रहन सफल यो धार्मिक अनुष्ठानका संकल्पकर्ता हुन् – पत्रकारिता पृष्ठभूमिबाट आएका श्री मुकुन्द शर्मा हुमागाईं । उनको नेतृत्वमा ७७ वटै जिल्लामा रथयात्रा गर्दै कोटिहोमको तयारी गरिएको थियो । कोटिहोम सम्पन्न भएपछि प्रा. डा. माधव भट्टराईको नेतृत्वमा रहेको राष्ट्रिय धर्म सभा नेपालले हुमागाईंलाई “विश्वकै एकमात्र कालाग्निरुद्र पीठ लड्केश्वर धाम” का पीठाधीशको रूपमा सम्मानित गरेको थियो । धार्मिक मान्यताअनुसार, कालाग्निरुद्रको प्रतिरूप मानिने लड्केश्वर महादेव सम्पूर्ण सृष्टिमा अद्वितीय छन् । सूर्य पुराणमा आधारित यो धारणा पीठाचार्य अरुणकुमार पाण्डेले पुष्टि गर्दै लड्केश्वर धामको आध्यात्मिक गरिमालाई बल दिएको बताउनुहुन्छ ।

    images
    images

    २०८० सालको कोटिहोमपछि देशभर लक्षहवन सहित कोटिहोमको प्रसाद वितरण जारी छ । आगामी २०८३ माघ शुक्लपक्षमा दोस्रो राष्ट्रिय कोटिहोम आयोजना गर्ने तयारी तीव्र गतिमा अघि बढिरहेको छ । हालसम्म ६ वटा लक्षहवन सम्पन्न भइसकेका छन् । लड्केश्वर धाममा हरेक वर्ष हरिबोधिनी एकादशीका दिन भव्य मेला लाग्ने परम्परा छ । यस्तै, उत्तरायणको गंगा दशहरा र दक्षिणायनको धान्यपूर्णिमामा साधनामूलक विशेष मेला गरिने भएकाले यो धाम धार्मिक पर्यटनको एक महत्वपूर्ण केन्द्र बन्दै गएको छ । यो वर्षको गंगा दशहरा मेला २०८२ जेष्ठ १४ गते देखि सुरु हुँदैछ । कालाग्निरुद्र पीठको औपचारिक प्रस्तावना भएको एक वर्ष पुगेको सन्दर्भमा पनि यो मेला विशेष हुने अनुमान गरिएको छ । पीठाधीश श्री शर्माले देशभरका विद्वान, धर्मप्रेमी एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक सल्लाह, सुझाव र सहभागिता जनाउन सबैलाई निमन्त्रणा गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend