काठमाडौंः निर्यात व्यवसायी महासंघ नेपालको पाँचौं वार्षिक साधारण सभा सम्पन्न हुँदै नयाँ कार्यकारिणी समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। जेठ २ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रम मार्फत आगामी कार्यकालका लागि अध्यक्ष सहित ९ पदाधिकारी र १२ सदस्य पद गरी कुल २१ पदका लागि निर्वाचन सम्पन्न भएको छ।
महासंघको नयाँ नेतृत्वमा अध्यक्षमा गोविन्द प्रसाद घिमिरे चयन भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा देवानन्द सरावगी, उपाध्यक्ष (वस्तुगत) मा किरण कुमार डंगोल, र उपाध्यक्ष (एसोसिएट) मा शान्ता बास्कोटा निर्वाचित भएका छन्। महासचिवमा शिव प्रसाद भट्ट, सचिवमा प्रदीप शाही, महिला सचिवमा रेखा अर्याल, कोषाध्यक्षमा शैलेन्द्र गुरागाईं र सह–कोषाध्यक्षमा पुनम कार्की निर्वाचित भएका छन्।
सदस्य पदमा वस्तुगत तर्फबाट रुद्र प्रसाद न्यौपाने, मनोज कुमार चापागाईं, होम प्रसाद घिमिरे, निर्मल भट्राई, राजेन्द्र सग्रौला र सुनिल चित्रकार निर्वाचित भएका छन्। यस्तै, एशोसिएट तर्फबाट अजय सिंह कार्की, उरुषा चापागाईं, मनोज अधिकारी, नारायण कृष्ण खरेल, दावा शेर्पा र नानीराज घिमिरे निर्वाचित भएका हुन्। निर्वाचन मण्डल सदस्य प्रल्हाद दाहालका अनुसार सम्पूर्ण पदाधिकारी र सदस्यहरू सर्वसम्मत रुपमा चयन भएका छन्।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत रामचन्द्र न्यौपानेले नव–निर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए।
साधारण सभा तथा अधिवेशन कार्यक्रम महासंघका निवर्तमान अध्यक्ष शंकर प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।
कार्यक्रममा मन्त्री भण्डारीले आगामी बजेटमा निर्यात प्रवर्द्धन र घरेलु उत्पादनको निर्यातलाई प्राथमिकतामा राखिने स्पष्ट पार्दै, निजी क्षेत्रसँग सहकार्यमा निर्यात प्रवर्द्धनलाई तीव्रता दिने बताएका छन्। साथै, प्रत्येक दुई वर्षमा एसआईपी (Strategic Investment Plan) अन्तर्गत वित्तीय र अवित्तीय सेवा वर्गीकरण गरी कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले ७५ प्रतिशत योगदान दिने निजी क्षेत्रसँग सहकार्य गर्दै घरेलु प्रत्यक्ष लगानी प्रवर्द्धन गर्नुपर्नेमा बल दिएका छन्।




.gif)





