images

२०८३ आश्विन १७ गते

images
images
images

अब नेपालमा चल्ने भए भारु २०० र ५०० का नोट

अब नेपालमा चल्ने भए भारु २०० र ५०० का नोट

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • नेपाल राष्ट्र बैंकले भारतीय २०० र ५०० रुपैयाँ दरका नोट नेपालमा वैधानिक रूपमा प्रयोग गर्न सकिने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै आवश्यक प्रक्रियागत व्यवस्था पूरा भएपछि बिहीबारदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो।नयाँ व्यवस्थाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २०० र ५०० रुपैयाँका नोट नेपाली तथा भारतीय नागरिकले प्रति व्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, भारत लैजान तथा प्रचलित नियमअनुसार सटही गर्न सक्नेछन्। अब ती दरका नोट नेपाली बैंक तथा वित्तीय संस्थाले पनि प्रचलित प्रक्रिया अनुसार सटही गर्न सक्नेछन्।राष्ट्र बैंकले यो निर्णय नेपाल सरकारको नीतिगत निर्णय तथा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले गरेको विदेशी विनिमय सम्बन्धी व्यवस्थासँग तालमेल मिलाउँदै कार्यान्वयनमा ल्याएको जनाएको छ।

    images
    images

    पुराना ५०० र १,००० का नोट अझै निषेध

    केन्द्रीय बैंकले भने सन् २०१६ नोभेम्बर ९ भन्दा अघि जारी भएका भारतीय ५०० र १,००० रुपैयाँका नोट भने नेपालमा प्रयोग गर्न, सटही गर्न वा कारोबारमा ल्याउन नपाइने स्पष्ट पारेको छ।त्यस्तै, हाल भारतमा प्रचलनमा रहेको २,००० रुपैयाँ दरको नोट नेपाल ल्याउन, भारत लैजान वा साथमा राख्न पनि अनुमति नहुने व्यवस्था यथावत् राखिएको छ।

    images
    images

    २५ हजार रुपैयाँसम्म मात्र ल्याउन–लैजान पाइने

    नयाँ व्यवस्थाअनुसार २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म मात्र ल्याउन वा लैजान सक्नेछन्। साथै, भारत बाहेक अन्य कुनै पनि मुलुकबाट भारतीय मुद्रा नेपाल भित्र्याउन वा बाहिर लैजान भने अनुमति नहुने राष्ट्र बैंकले जनाएको छ।भारत सरकारले सन् २०१६ नोभेम्बर ८ मा पुराना ५०० र १,००० रुपैयाँका नोट विमुद्रीकरण (Demonetization) गरेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको थियो। त्यसअघि नेपालमा भारतीय ठूला दरका नोट सहज रूपमा कारोबार हुने गरे पनि भारतको निर्णयपछि तिनको प्रयोग रोकिएको थियो।त्यतिबेला नेपालको बैंकिङ प्रणालीमा ७ करोड रुपैयाँभन्दा बढी बराबरका भारतीय ५०० र १,००० दरका नोट रहेको बताइन्छ। ती नोट सटहीका लागि नेपालले पटक–पटक भारतसँग पहल गरे पनि समाधान हुन नसकेपछि नेपालले पनि ठूला दरका भारतीय नोटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो।

    नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार अब सर्वसाधारणले बैंकमार्फत भारतीय २०० र ५०० दरका नोट सटही गर्न सक्नेछन्। बैंकहरूले संकलन गरेका नोट नेपाल राष्ट्र बैंकमार्फत रिजर्भ बैंक अफ इन्डियामा रहेको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएकाले नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend