काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८३ साउन ५ गते वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले सर्वसाधारणका लागि विशेष सन्देश जारी गर्दै सोचविचार गरेर मात्र लगानी गर्न, आधिकारिक वित्तीय संस्थामार्फत कारोबार गर्न तथा डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले जारी गरेको सन्देशमा ‘वित्तीय रूपमा सचेत नागरिक नै समृद्ध समाजको आधार’ भएको उल्लेख गर्दै बचत, लगानी, ऋण व्यवस्थापन र डिजिटल कारोबारमा जिम्मेवार बन्न सबैलाई आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार वित्तीय रूपमा सचेत हुन नागरिकले निम्न विषयमा विशेष ध्यान दिनुपर्छः
आयअनुसार खर्च र नियमित बचत गर्ने बानी बसाल्ने।
लगानी गर्नुअघि जोखिम, प्रतिफल र सम्बन्धित संस्थाको विश्वसनीयता बुझ्ने।
अनधिकृत तथा अवैध लगानी योजनाको प्रलोभनमा नपर्ने।
बैंक तथा वित्तीय संस्थाबाट मात्रै वित्तीय कारोबार गर्ने।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेट प्रयोग गर्दा पासवर्ड, ओटीपी र व्यक्तिगत विवरण गोप्य राख्ने।
कर्जा लिँदा आफ्नो भुक्तानी क्षमता मूल्यांकन गर्ने र समयमै किस्ता तिर्ने।
वित्तीय ठगी वा शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने।
नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता विस्तारले व्यक्तिगत आर्थिक सुरक्षा मात्र होइन, समग्र वित्तीय प्रणालीलाई समेत थप सुरक्षित, पारदर्शी र विश्वासयोग्य बनाउने उल्लेख गरेको छ।
राष्ट्र बैंकले वित्तीय सेवाको पहुँचसँगै वित्तीय चेतना पनि उत्तिकै आवश्यक रहेको भन्दै सबै नागरिकलाई जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह गरेको छ।





.gif)





