वीरगन्ज । वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको बहुप्रतीक्षित काम आज (शनिबार) साँझदेखि सुरु हुने भएको छ। सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५–२५ मिटर चौडाइमा विस्तार गर्न प्रक्रिया अघि बढाएको हो।
कार्यालयका अनुसार सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने कार्य आज साँझदेखि सुरु गरिनेछ। यसका लागि डोजर, जेसीबी र एक्साभेटरसहित ९ वटा हेभी उपकरण वीरगन्ज ल्याइसकिएको छ।
आज साँझ ४ बजे वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा सरोकारवाला निकायबीच बैठक बस्नेछ। बैठकमा सडक डिभिजन कार्यालय, नापी, नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत प्राधिकरणलगायतका कार्यालय प्रमुखको सहभागिता रहनेछ। बैठकपछि महानगरपालिका र सुरक्षा निकायको समन्वयमा शहरका ५ विभिन्न स्थानबाट एकैसाथ डोजर परिचालन गरिने जनाइएको छ।
यो सडक विस्तार योजना गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, बिर्ता, छपकैया र भन्सार हुँदै मितेरी पुलसम्म लागू हुनेछ।
उक्त योजना लामो समयदेखि कानुनी विवादका कारण रोकिएको थियो। करिब १,२०० घरधनीले २०७६ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सर्वोच्च अदालत ले २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि करिब १३ वर्षदेखिको अन्योल अन्त्य भएको हो।
यसअघि विभिन्न चरणमा सूचना जारी गरिए पनि विवादका कारण कार्यान्वयन हुन सकेको थिएन। अब अदालतको निर्णयपछि सडक विस्तारको काम औपचारिक रूपमा सुरु हुन लागेको हो।
स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच समन्वय गरेर कार्य अघि बढाइने जनाइएको छ।




.gif)





