काभ्रेपलाञ्चोक, ९ चैत । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई छ लेनमा विस्तार गर्ने काममा तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति भएको छ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार करिब १६ किलोमिटर सडक विस्तारको काम निर्धारित समयभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको छ। यसअघि दुई लेन रहेको सडकलाई छ लेनमा स्तरोन्नति गरिँदै छ भने दायाँबायाँ दुई सर्भिस लेन र २।५ मिटरका फुटपाथसमेत निर्माण भइरहेका छन्।
आयोजनाको म्याद सकिएपछि गत मङ्सिर अन्तिमसातामा थप एक वर्ष समय थप गरिएको थियो। सडक विस्तारलाई दुई खण्ड–साँगा–धुलिखेल र सूर्यविनायक–साँगा–मा विभाजन गरेर काम भइरहेको छ।
साँगा–धुलिखेल खण्ड (८ किमी) मा हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भएको छ। लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको उक्त खण्डमा समग्र प्रगति ६५ प्रतिशत पुगेको र पिचबाहेक ९० प्रतिशत संरचनात्मक काम सम्पन्न भइसकेको जनाएको छ।
यस्तै, सूर्यविनायक–साँगा (७.५ किमी) खण्डमा ५५ प्रतिशत काम सकिएको छ। ‘सेन्टर लाइन’ विवादका कारण डेढ वर्षसम्म रोकिएको काम गत मङ्सिरबाट पुनः सुरु गरिएको हो। हाल जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी र बनेपा बजार क्षेत्रमा काम तीव्र बनाइएको छ।
यस खण्डमा टेवा पर्खाल, नाली तथा कल्भर्ट निर्माण भइरहेका छन् भने साँगा क्षेत्रको जटिल भू–भाग (घुम्ती र भिर) का कारण निर्माणमा केही कठिनाइ देखिएको आयोजनाले जनाएको छ।
सडकअन्तर्गत पर्ने तीन पुलमध्ये महादेव खोलामा निर्माण भइरहेको छ भने अन्य दुई पुलको डिजाइन ढिलाइ स्थानीय अवरोधका कारण भएको थियो। अहिले ती समस्या समाधान भइसकेकाले निर्माण प्रक्रिया अघि बढ्ने तयारीमा छ।
तातोपानी नाका सञ्चालनमा आएपछि यस राजमार्गमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ। हाल कोटेश्वरबाट मात्रै दैनिक २,५०० भन्दा बढी सवारी साधन यस मार्गमा छुट्ने गरेका छन्।
यस सडक विस्तार सम्पन्न भएपछि काठमाडौं उपत्यका र पूर्वी पहाडी तथा तराई क्षेत्रबीचको यातायात अझ सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।




.gif)





