काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खराब कर्जा (Non-Performing Loan – NPL) उच्च स्तरमा पुगेको छ। खराब कर्जा तीव्र रूपमा बढ्दा प्रोभिजनिङ खर्च बढेको छ, जसको प्रत्यक्ष असर बैंकको नाफामा परेको छ।
बैंकको साउनदेखि पुससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खराब कर्जा ७.९ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ५.८६ प्रतिशत मात्र थियो। यस आधारमा खराब कर्जा करिब ३.८१ प्रतिशत अंकले बढेको देखिन्छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खराब कर्जा ५ प्रतिशतभित्र सीमित राख्न निर्देशन दिएको छ।
खराब कर्जा बढेसँगै बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ७७ करोड रुपैयाँ मात्र थियो। उच्च प्रोभिजनिङकै कारण बैंकको नाफा उल्लेखनीय रूपमा घटेको हो।
पुस मसान्तसम्म बैंकको खुद नाफा ४३.०४ प्रतिशतले घटेर १ अर्ब ६१ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
ब्याज आम्दानी तथा अन्य आम्दानी संकुचित हुँदा पनि नाफामा दबाब परेको छ। बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड रुपैयाँमा झरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ थियो। कुल सञ्चालन आम्दानी पनि ४.७४ प्रतिशतले घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ।
नाफा घटेसँगै प्रतिसेयर आम्दानी (EPS) पनि घटेको छ। गत वर्ष ६ महिनामा १६ रुपैयाँ ६० पैसा रहेको भ्एक् अहिले ९ रुपैयाँ ४५ पैसामा झरेको छ। वार्षिकीकरण गरिएको EPS ९.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँले ऋणात्मक देखिएको छ।
बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.७२ प्रतिशत रहेको छ भने त्रैमासको औसत आधार दर ५.१६ प्रतिशत छ। विश्लेषकहरूका अनुसार ब्याज आम्दानीमा आएको गिरावट, सञ्चालन खर्च वृद्धि र उच्च प्रोभिजनिङ नै बैंकको नाफा घट्नुको मुख्य कारण हो।
यद्यपि बैंकले आफ्नो चुक्ता पुँजी र रिजर्भ संरचना बलियो रहेको दाबी गरेको छ। बलियो पुँजी आधारले दीर्घकालीन रूपमा जोखिम न्यूनीकरणमा सहयोग पुर्याउन सक्ने भए पनि हाल बढ्दो खराब कर्जा र घट्दो नाफाले बैंकको वित्तीय अवस्था माथि दबाब बढाइरहेको देखिन्छ।




.gif)





